बारा, पर्सासहित मधेसका विभिन्न क्षेत्रमा वारुणयन्त्रबाट खानेपानी वितरण

सिमराः बारा, पर्सासहित मधेसका विभिन्न स्थानमा उत्पन्न खानेपानीको सङ्कट समाधान गर्न मधेस प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले वारुणयन्त्रबाट पानी आपूर्ति गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारसँग रहेका पाँच हजार लिटर क्षमताका आठवटा वारुणयन्त्र बुधबार वीरगन्ज पठाइएको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार खानेपानीको समस्या भएका स्थानहरूमा ती वारुणयन्त्रहरू २४ सै घण्टा परिचालित गरिनेछ। वारुणयन्त्रको व्यवस्थापन र पानी आपूर्ति नेपाली सेनाले गर्नेछ । सेनाले आफ्नै सातवटा ट्याङ्करमार्फत पनि पानी आपूर्ति गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।
यसअघि वन विभागले तीनवटा ट्याङ्करमार्फत सुक्खाग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति गर्दै आएको थियो ।