धनुषामा असार महिनाको ‘पुलिस अफ द मन्थ’ सागर सम्शेर जबरा


eShilalekh

३२ असार २०८२, बुधबार १४:५२

सिमराः जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी वरिष्ठ नायब निरीक्षक सागर सम्शेर जबरालाई असार महिनाको ‘पुलिस अफ दि मन्थ’ घोषणा गरेको छ । आफ्नो कार्यकुशलता, निडरता र जिम्मेवार व्यवहारका कारण उनले यो सम्मान प्राप्त गरेका हुन्।

धनुषा प्रहरीको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत जबरा पछिल्ला दिनमा विभिन्न गम्भीर प्रकृतिका आपराधिक घटनाहरूको सफल अनुसन्धान र अभियुक्त पक्राउमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

धनुषा प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार जबराले हत्या, आक्रमण, ठगी, विश्वासघात तथा विद्युतीय अपराधजस्ता मुद्दामा फरार अभियुक्तहरूलाई पक्राउ गर्न उल्लेखनीय सफलता हासिल गरेका छन् ।

गत वर्ष चैत १७ गते लक्ष्मिनिया गाउँपालिका ५ बनिनियाँमा श्रीमती अञ्जली यादवको हत्या गरी शव गाडेको आरोपमा फरार रहेका हरिराम यादवलाई पक्राउ गर्न जबराले निर्णायक भूमिका खेलेका थिए । यसैगरी असार १८ गते जनकपुर उपमहानगरपालिका १५ मा वासुदेव साहमाथि चक्कु प्रहार गरी फरार रहेका अभियुक्त बेचन महासेठलाई खजुरी रेलवे स्टेशनबाट पक्राउ गर्न पनि जबराको सक्रियता रहेको थियो ।

ठगी तथा विद्युतीय अपराधमा फरार रहेका हनिफ नदाफलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन पनि उनले उल्लेखनीय भूमिका खेलेका थिए।

प्रहरीप्रति आमनागरिकको विश्वास बढाउनुका साथै संगठनको गौरवलाई अझ मजबुत बनाएको भन्दै उनलाई असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्