सर्लाहीमा ट्रकमा करेन्ट लाग्दा एकको मृत्यु, दुई घाइते

सर्लाही: सर्लाहीको नवलपुरस्थित एक उद्योगमा बिहिवार बिहान ट्रकमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने दुइजना घाइते भएका छन् ।
मृत्यु हुनेमा ट्रकका सहचालक रौतहटको बृन्दावन नगरपालिका–७ निवासी ३० वर्षीय दिनेश पासवान रहेका छन्। घाइते हुनेमा २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान रहेका प्रहरीले जनाएको छ ।
लालबन्दी नगरपालिका १ नवलपुरस्थित लखनदेही पुल नजिकै रहेको न्यु माँ राजदेबी खाद्य उद्योगमा रोकिराखेको ट्रकबाट त्रिपाल हटाउने क्रममा ट्रकको माथिल्लो भागमा ११ हजार भोल्टको विद्युत् तारमा छोइएपछि घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करेन्ट प्रवाहले तीनै जना घाइते भएका थिए ।
घाइतेरुलाई उपचारकालागि तत्कालै हरिवनस्थित नमुना अस्पताल पठाइएको थियो । तर, उपचारको क्रममा सहचालक दिनेशको मृत्यु भएको प्रहरीले जनाएको छ।
करेन्ट लागेर घाइते भएका कुन्दन र जागेश्वरको हात र खुट्टामा चोट लागेको र अहिले उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ भने ट्रक इलाका प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको छ।