मधेस प्रदेशका विभिन्न स्थानमा सवारी दुर्घटना, चार जनाको मृत्यु

सिमराः मधेस प्रदेशका विभिन्न स्थानहरूमा हालै भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्।
सिराहाको कर्जन्हा नगरपालिका–२ स्थित सडकमा चन्द्रपुरबाट इटहरीतर्फ जाँदै गरेको प्र.२–०४–००१ ख ००५६ नम्बरको ट्रक अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा ट्रकमा सवार भारत राजस्थान ग्राम भेड बस्ने २९ वर्षीय छयाल सिंहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको फुलकुमारी महतो मेमोरियाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनामा घाइते भएका ट्रकमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
ट्रक चालक फरार रहेको र उनको खाजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरी रौतहटको राजपुर नगरपालिका १ पिप्रा भगवानपुर टोलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ५५ वर्षीया मिरा देवी यादवको बुधवार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार सवारी साधन र चालकको खोजी गरिरहेको छ ।
यसैगरी महोत्तरी गौशाला नगरपालिका ३ नवराजपुरस्थित सडकमा बुधबार बिहान ज.५ प ५०१४ नम्बरको मोटरसाइकल र बीआर ०७ एजि ८१३२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा ज.५ प ५०१४ नम्बरको मोटरसाइकलमा सवार भंगहा नगरपालिका ४ की ४० वर्षीया अमला देवी सरदार वातरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते मोटरसाइकल चालक र अर्का सवारलाई थप उपचारका लागि बर्दिबास पठाइएको छ।
प्रहरीले फरार बीआर ०७ एजि ८१३२ नम्बरको मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।
यसैगरी सर्लाही कविलासी नगरपालिका १० पिडार चोकस्थित सडकमा कविलासीबाट मलंगवातर्फ जाँदै गरेको प्र.२–०३–०१४ प १२१४ नम्बरको मोटरसाइकलको ठक्करबाट एक अन्दाजी ५० वर्षीय अज्ञात पुरुषको बुधबार बिहान मृत्यु भएको छ ।ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि जनकपुर पठाइएको छ ।