सिरहामा ७ क्विन्टल भन्दा बढी गाँजा बरामद, घरधनी फरार

सिरहाः सिरहामा शुक्रबार बिहान ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ ।
सुखीपुर नगरपालिका ४ पोखरियास्थित एक घरबाट प्रहरीले सात सय किलोभन्दा बढी मात्रामा लागूऔषध गाँजा बरामद गरेको हो ।
प्रहरी चौकी सिलौर्वापछवारी र सशस्त्र प्रहरी बेस क्याम्प खुसीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले ६० वर्षीय मेदी यादवको घरमा छापा मार्दा घरभित्रै २७ पोका गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए । बरामद भएको २७ पोका गाँजा तौल गर्दा कुल ७१७.६ किलोग्राम रहेको छ ।
गाँजा बरामद भए पनि घटनाका मुख्य अभियुक्त घरधनी यादव फरार रहेका छन् । यादवको खोजी कार्य भइरहेको र थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।