रौतहटका पत्रकार प्रजापतिले गरे आत्महत्या


eShilalekh

४ श्रावण २०८२, आईतवार १३:४२

रौतहटः रौतहटका पत्रकार रबिन्द्र प्रजापतिले आत्महत्या गरेका छन् । कटहरिया नगरपालिका ५ का २८ वर्षीय प्रजापतिले शनिबार राति आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेका हुन् ।

कटहरिया बजारस्थित म्युजिकल एफएममा कार्यरत प्रजापतिको शव झ्यालको रडमा पासो लगाएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिए ।

घरका सदस्यहरूले कोठाको ढोका फुटाएर पासोको डोरी काटेर उनलाई उपचारका लागि गरुडास्थित ग्रान्डी अस्पतालमा पुर्याएका थिए । तर ग्रान्डी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार प्रजापति तनावमा थिए । समाचारको विषयलाई लिएर कटहरिया नगरपालिकाका मेयर जयप्रकाश जयसवालले धम्की दिएका थिए । तनावमा आएर उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम गौरस्थित सरकारी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै प्रेस चौतारी नेपाल रौतहटले शोक विज्ञप्ति जारी गरेको छ । सचिव मुकेश साहले विज्ञप्ति जारी गर्दै घटनाको छानविन गर्न समेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्