जसपाका दुई प्रभावशाली नेता जनमतमा प्रवेश, सिके राउतले गरे स्वागत


eShilalekh

५ श्रावण २०८२, सोमबार १६:५०

सिमराः जनता समाजवादी पार्टी (जसपा) का दुई प्रभावशाली नेता जनमत पार्टीमा प्रवेश गरेका छन् । बाराबाट जसपाको राजनीतिमा सक्रिय पहिलो संविधानसभाका सदस्य प्रमोद गुप्ता र पूर्व मधेश प्रदेशसभा सदस्य पारसप्रसाद साह सोमबार जनमतमा प्रवेश गरेका हुन् ।

कलैयामा आयोजित एक कार्यक्रमकाबीच जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उनिहरुलाई पार्टीमा प्रवेश गराएका थिए । गुप्ता र साहसंगै सयौंको संख्यामा जसपाका कार्यकर्ता जनमतमा प्रवेश गरेका छन् ।

गुप्ता पहिलो संविधानसभाका सदस्य हुन् । उनले पछिल्लो पटक २०७९ सालमा जसपा नेपालबाट कलैया उपमहानगपालिकाको उपप्रमुखमा निर्वाचन लडेका थिए । उक्त निर्वाचनमा गुप्ता नेकपा एमालेकी रौशन परविनसंग नौ सय ४७ मतले पराजित भएका थिए ।

जसपा नेपाल छाडेका अर्का नेता साह भने २०७४ सालमा प्रदेश निर्वाचन क्षेत्र ३(२) बाट निर्वाचित मधेश प्रदेशसभा सदस्य हुन् । उक्त निर्वाचनमा उनले ११ हजार पाँच सय १७ मत प्राप्त गरेका थिए । २०७९ को प्रदेश निर्वाचनमा भने उनि नेकपा एमालेका नेता महम्मद समीरसंग ६८ मतले पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्