प्रसौनीस्थित बेंगा साह माविको पूर्वाधार विकासमा भारत सरकारको सहकार्य


eShilalekh

५ श्रावण २०८२, सोमबार २१:३४

सिमराः बाराको प्रसौनी गाउँपालिका २ स्थित श्री बेंगा साह माध्यमिक विद्यालयको पूर्वाधार विकासका लागि भारत सरकारले सहयोग गर्ने भएको छ ।

भारत सरकारको अनुदान सहयोगमा नेपालमा पाँच वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालन हुने भएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित यी परियोजनाहरूका लागि काठमाडौँस्थित भारतीय राजदूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित कार्यान्वयन निकायहरूबीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

परियोजनाको कुल लागत ३९ करोड रुपैयाँ रहेको छ । यी परियोजनामार्फत बारा, पर्सा, धनुषा, अछाम र मनाङ जिल्लामा विद्यालय तथा अस्पताल भवन निर्माण गरिनेछ ।

बाराको प्रसौनी गाउँपालिका २ मा बेंगा साह माध्यमिक विद्यालयको नयाँ भवन, छात्रावास र पुस्तकालय निर्माण गरिने छ ।

यसैगरी पर्साको पोखरिया नगरपालिकामा महोवनी पद्म माध्यमिक विद्यालय, धनुषाको बटेश्वर गाउँपालिका ३ मा जनशक्ति माध्यमिक विद्यालय, अछामको मेल्लेख गाउँपालिकामा बासुकी माध्यमिक विद्यालयको भवन निर्माण हुने छ । यसैगरी मनाङको नासो गाउँपालिका ५ मा पाँच शैयाको अस्पताल भवन निर्माण गरिनेछ ।

भारत सरकारले सन् २००३ यता नेपालमा ५७९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ । तीमध्ये ४९६ परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी विभिन्न चरणमा रहेका छन् ।

यी परियोजनाहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जाल, सरसफाइजस्ता क्षेत्रमा योगदान पुर्याउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्