मधेस प्रदेशमा पानीको संकट गहिरिँदा प्रधानमन्त्री कार्यालयको चासो, मुख्यसचिव अर्यालको निर्देशन

सिमराः मधेस प्रदेशमा खानेपानी र सिँचाइको गम्भीर समस्या उत्पन्न भएपछि प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ। सोमबार बसेको सचिवस्तरीय बैठकमा मुख्यसचिव एकनारायण अर्यालले प्रदेशका विभिन्न जिल्लामा फैलिएको पानीको संकटबारे गम्भीर ध्यानाकर्षण गराउँदै समाधानका लागि निर्देशन दिएका छन्।
स्रोतका अनुसारबैठकमा मुख्यसचिव अर्यालले गृह मन्त्रालयमार्फत मधेस प्रदेशका सबै प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई आवश्यक स्थानमा खानेपानीको तत्काल व्यवस्था गर्न निर्देशन दिएका छन्। साथै सिँचाइ अभावले गर्दा धान रोपाइँ गर्न नसकेको अवस्था रहँदा कृषिमा गम्भीर असर परेको भन्दै उनले सिंचाइजन्य समस्या समाधानका लागि पनि आवश्यक पहल गर्न निर्देशन दिएका हुन्।
मुख्यसचिव अर्यालले स्थानीय तहको क्षमताले मात्र समाधान सम्भव नहुने देखिएको भन्दै संघीय तथा प्रदेश सरकारबाट समन्वयात्मक ढंगमा अघि बढ्नुपर्ने बताए । त्यसका लागि सबै जिल्लामा रहेका विपद् व्यवस्थापन समितिहरूको बैठक बोलाएर आवश्यक निर्णय गरी गृह मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालयमा विस्तृत प्रतिवेदन बुझाउन निर्देशनसमेत दिएका छन् ।