वडाध्यक्ष खरेलमाथि दुर्व्यवहार गर्ने भट्टराई प्रहरी नियन्त्रणमा


eShilalekh

६ श्रावण २०८२, मंगलवार २१:५८

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेलमाथि दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले स्थानीय विकल्प भट्टराईलाई नियन्त्रणमा लिएको छ ।

वडाध्यक्ष खरेललाई घरमै पुगेर दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले जीतपुरसिमरा १६ का भट्टराईलाई नियन्त्रणमा लिएको हो । हलखोरिया साझेदारी वन समितिका अध्यक्ष समेत रहेका भट्टराई हाल जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा छन् ।

एक दम्पतिको विवाहदर्ता र सम्बन्धविच्छेद कानुन विपरित गरिएको भन्दै स्थानीय प्रशासनले उनका दाई झलकनाथमाथि अनुसन्धान थालेपछि भट्टराईले घरमै आएर आफूलाई अभद्र व्यवहार गरेको वडाध्यक्ष खरेलको भनाई छ । खरेलले दिएको जाहेरीको आधारमा प्रहरीले भट्टराईलाई नियन्त्रणमा हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले वडाध्यक्षमाथि अभद्र व्यवहार गरेको देखिएपछि भट्टराईलाई नियन्त्रणमा लिइएको बताएका छन् ।

मकवानपुर मनहरी गाउँपालिका घर भई हाल जीतपुरसिमरा उपमहानगरपालिका १६ मा अस्थायी बसोबास गर्ने युवती र कलैया उपमहानगरपालिका १६ घर भएका युवकको विवाहदर्ता कानुन विपरित जीतपुरसिमरा वडा नं. ४ को कार्यालयमा गरिएको विषयलाई लिएर भट्टराईका दाइ झलकनाथमाथि जिल्ला प्रशासन कार्यालय बाराले अनुसन्धान थालेको थियो । झलकनाथ जीतपुरसिमरा ४ का वडासचिव हुन् ।

कानुन विपरित गरिएको उक्त विवाह दर्तामाथि जिल्ला प्रशासनले अनुसन्धान थालेपछि भट्टराईले उक्त आक्रोश वडाध्यक्ष खरेलमाथि पोखेका थिए । आफ्नो दाइलाई अनुसन्धानको दायरामा ल्याउन भूमिका खेलेको भन्दै भट्टराईले वडाध्यक्षमाथि अभद्र व्यवहार गरेको देखिन आएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताएका छन् ।

‘मकवानपुरकी युवती र कलैयाका युवकबीचको विवाहदर्ता असम्बन्धित वडा जीतपुरसिमरा ४ मा भएको देखिन्छ । जुन विवाहदर्ता कानुन विपरित छ’ प्रमुख जिल्ला अधिकारी अधिकारीले भने ‘उक्त विषयमा उजुरी आएपछि हामीले अनुसन्धान गरिरहेका थियौ । सोही विषयलाई लिएर वडासचिवका भाइ आक्रोशित भएर वडाध्यक्षमाथि अभद्र रुपमा प्रस्तुत भएको जानकारी पायौं । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।’

प्रमुख जिल्ला अधिकारी अधिकारीले आर्थिक लेनदेनका लागि उक्त विवाहदर्ता भएको देखिन आएकाले अनुसन्धान भईरहेको बताए । वडासचिव झलकनाथले समेत आफूले विवाहदर्ता गरिदिएको प्रशासनसमक्ष स्वीकार गरिसकेको प्रमुख जिल्ला अधिकारीको भनाई छ ।

यता आफ्नो पार्टीबाट निर्वाचित वडाध्यक्षमाथि दुर्व्यवहार भएको भन्दै नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीले विज्ञप्ति जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गरिरहेको विषयमा वडाध्यक्ष खरेलमाथि झुठ्ठो आरोप लगाउँदै गाली गलौज तथा अभद्र व्यवहार गरेको घटनाको भत्र्सना गरेको जनाउँदै एमाले नगर कमिटीले घटनाको छानविन गर्न माग गरेको छ ।

‘स्थानीय प्रशासनले अनुसन्धान गर्ने विषयलाई वडाध्यक्षलाई मुछेर दुर्व्यवहार गर्नु कानुन विपरितको कार्य हो’ नगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम शाहद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘अभद्र व्यवहार गर्ने व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन, घटनाको छानविन गर्न, कानुन विपरित कार्य गर्ने कर्मचारी र व्यक्तिलाई कानुनी दायरामा ल्याउन र जनप्रतिनिधिको सुरक्षामा गम्भीर हुन स्थानीय प्रहरीप्रशासनसंग माग गर्दछौं । ’

प्रतिक्रिया दिनुहोस्