सुवर्ण गाउँपालिकाका अध्यक्ष यादवको अभिव्यक्तिप्रति पत्रकार महासंघको ध्यानाकर्षण

सिमरा: पत्रकारिता पेशामाथि गम्भीर आक्षेप लगाउने प्रयास भएको भन्दै नेपाल पत्रकार महासंघ बारा शाखा र मधेस प्रदेश समितिले गम्भीर आपत्ति जनाएको छ।
बाराको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवले समाचार सम्प्रेषण भएको विषयलाई लिएर सञ्चारकर्मी र सञ्चार क्षेत्रलाई बदनाम गर्ने गरी सामाजिक सञ्जालमा दिएका अभिव्यक्तिप्रति महासंघले आपत्ति जनाएको हो।
मंगलबार कलैयामा अध्यक्ष यादव सवार गाडी र एक मोटरसाइकलबीच ठक्कर भएको घटनालाई लिएर विभिन्न सञ्चारमाध्यमहरूले समाचार सम्प्रेषण गरेका थिए। सोही समाचारप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष यादवले पत्रकारमाथि व्यक्तिगत आक्षेप लगाएका थिए।
समाचारको विषयमा चित्त नबुझेको खण्डमा कानुनी उपचार खोज्न सकिने निकायहरू रहँदासमेत सञ्चारकर्मीमाथि आरोप लगाउँदै पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने नियतसाथ अभिव्यक्ति दिइएको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण गराएको हो।
नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुबेदी र मधेस प्रदेश महासचिव शैलेन्द्र महतोद्वारा बुधबार जारी संयुक्त विज्ञप्तिमा अध्यक्ष यादवले सार्वजनिक रूपमा अभिव्यक्ति फिर्ता नलिए वा माफी नमागेमा सशक्त कदम चालिने चेतावनी पनि दिइएको छ।