मधेस प्रदेश तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सिमराः मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । समयमा वर्षा नहुँदा धान रोपाइँमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा समेत धाँजा फाट्न थालेको थालेको अवस्थालाई मध्यनजर गर्दै सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको दफा ३२ बमोजिम राजपत्रमा सूचना प्रकाशित भएको मितिले तीन महिनाका लागि मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन् ।
हाल मधेस प्रदेशका खोलानाला सुक्न थालेका छन् भने भूमिगत जलस्रोतसमेत सुक्दै गएकाले खानेपानीको गम्भीर अभाव देखिन थालेको छ। धान रोपिएको खेतमा पानीको कमीले चिरा परिरहेका छन्।
यसअघि मधेश प्रदेश सरकारले असार २६ गते मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । खानेपानीको समस्या समाधानकालागी प्रदेश सरकारले दमकल र ट्यांकरबाट बस्ती बस्तीमा पानी बाँड्न थालेको छ ।