मधेश प्रदेशमा विद्युतीय करेन्ट लागेर मृत्यु हुनेको संख्या बढ्दो

सिमराः मधेश प्रदेशमा करेन्ट लागेर मृत्यु हुनेको संख्या बढ्दो छ ।
पछिल्लो पटक रौतहट र धनुषामा भएको छुट्टाछुट्टै घटनामा तीन जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउने सबै किसान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार माधवनारायण नगरपालिका ४ बिसुनपुर्वा मानपुरका ४० वर्षीय रामबाबु मुखिया र कटहरिया नगरपालिका २ जमुनियाका ४२ वर्षीय मोक्तार देवानको करेन्ट लागेर मृत्यु भएको हो ।
रामबाबु मुखिया आफ्नो धान खेतमा मोटरबाट पानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल प्रादेशिक अस्पताल गौर पुर्याईएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।
यसैगरी मोक्तार देवान आफ्नो खेतमा सिँचाइका लागि मोटर चलाउँदा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी बुधबार दिउँसो धनुषाको हंसपुर नगरपालिका ३ मलहनियामा ६० वर्षीय असर्फी महराको सिँचाइको क्रममा करेन्ट लागेर मृत्यु भएको हो । खेतमा पानी लगाउने क्रममा मोटरमा जडान गरिएको तार सर्ट भई करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीय प्रशासनले विद्युतीय मोटर र उपकरण प्रयोग गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।