जीतपुरसिमराद्वारा संकटग्रस्त क्षेत्र व्यवस्थापनका लागि योजनाबद्ध निर्णय

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको ४४औं कार्यपालिका बैठक सम्पन्न भएको छ।
हालै सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्रको घोषणा गरेपछि त्यसका सम्भावित जोखिम र चुनौतीहरूको प्रभावकारी व्यवस्थापनका लागि बैठकले महत्वपूर्ण तथा योजनाबद्ध निर्णयहरू गरेको हो।
बैठकले प्रत्येक वडामा विपद् व्यवस्थापन समिति गठन गर्ने र संकटग्रस्त क्षेत्रको व्यवस्थापनका लागि आवश्यक कार्यक्रम तथा बजेटसहितको कार्ययोजना तीन दिनभित्र तयार गरी उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखामा पेश गर्न सबै वडाहरूसँग पत्राचार गर्ने निर्णय गरेको छ।
वडाबाट प्राप्त कार्ययोजनाका आधारमा उपमहानगरपालिकाले नगरस्तरीय विपद् व्यवस्थापन समितिमा छलफल गरी अन्तिम निर्णय लिनेछ। उक्त निर्णयलाई जिल्ला समन्वय समिति कार्यालय, बारा र जिल्ला प्रशासन कार्यालय, बारामा पेश गरिनेछ।
उपमहानगरपालिकाले विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनःस्थापना तथा दीर्घकालीन जोखिम न्यूनीकरणका कार्यहरूलाई प्राथमिकतामा राखी कार्ययोजना अघि बढाइने जनाएको छ ।