बारा कोरा च्यालेन्ज २०२५ सम्पन्न, धार्मिक अवलोकन र पर्यटकीय प्रवर्द्धनमा जोड

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका भित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्दै `बारा कोरा च्यालेन्ज २०२५´ सम्पन्न भएको छ।
बारा राइडर संघ सिमराको आयोजनामा बारा कोरा च्यालेन्ज सम्पन्न भएको हो । वातावरणमैत्री र स्वास्थ्यका लागि उपयुक्त साधनका रुपमा लिने गरिएको साइकल चढेर संघले प्रत्येक वर्ष कोराको आयोजना गर्दै आएको छ ।
यस वर्ष सिमरा चोकबाट सुरु भएको यात्रा पर्सा राष्ट्रिय निकुञ्जको भित्री जंगल हुँदै अमलेखगञ्जमा सम्पन्न भएको थियो । अमलेखगञ्ज पुगेपछि सहभागी टोलीले बाराको एकमात्र ह्याइकिङ गन्तव्य सिद्धबाबा मन्दिरको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय गरेका थिए ।
जीतपुरसिमरा उपमहानगरपालिका नगरप्रमुख राजन पौडेलले साइकल चलाएर कोराको उद्घाटन गरेका थिए भने उपप्रमुख भोलाप्रसाद अधिकारीले रिबन काटेका थिए ।
कार्यक्रममा वि.सं. २०५४ मा साइकलमार्फत मेची-महाकाली यात्रा गरेका सिमरा निवासी शिक्षक रामप्रसाद अधिकारी र मकवानपुरका पूर्व शिक्षक लक्ष्मी श्रेष्ठलाई विशेष सम्मान प्रदान गरिएको थियो । श्रेष्ठले वि.सं. २०५४ र २०८० मा दुईपटक मेची-महाकाली साइकल यात्रा पूरा गरेका थिए।
कोरामा बारा, पर्सा, मकवानपुरलगायत जिल्लाबाट करिब एक सय ७० जनाको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। सहभागीहरूमा बालबालिकादेखि वरिष्ठ नागरिकसम्मको उपस्थिति रहेको थियो ।
कार्यक्रमले स्वास्थ्य, खेलकुद, पर्यटन र स्थानीय पहिचानको प्रवर्द्धनमा सकारात्मक सन्देश दिन सफल भएको बारा राइडर संघले विश्वास जनाएको छ।
कार्यक्रम संघका अध्यक्ष शेषराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सहजीकरण शिक्षक रामप्रसाद अधिकारीले गरेका थिए।