वीरगन्जमा सुरु भयो ‘पानी बचाउ अभियान’

वीरगन्ज: चापाकलहरू सुकेर खानेपानीको हाहाकार भइरहेका बेला वीरगन्जमा पानीको दुरुपयोग रोक्न र पानी बचतको चेतना जगाउन ‘पानी बचाउ अभियान’ सुरु गरिएको छ।
वीरगन्ज महानगरपालिका र विभिन्न गैरसरकारी संस्थाको सहकार्यमा सुरु गरिएको यस अभियानले समुदायस्तरमा पानी संरक्षणका उपायहरूबारे जनचेतना फैलाउने उद्देश्य राखेको छ।
अभियानमा नेपाल रेडक्रस सोसाइटी, नेपाल खानेपानी संस्थान, दिगो विकास स्रोत केन्द्र र सामाजिक संस्था जिल्ला समन्वय समिति (एनजीओसीसी) को पनि सहकार्य रहेको छ।
एनजीओसीसी पर्साका अध्यक्ष इब्राहिम देवानका अनुसार अभियानको पहिलो चरण अन्तर्गत पानीको संकटले सबैभन्दा बढी प्रभावित वडामा पर्ने विद्यालयहरूमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। अभियानमा खटिएका स्वयंसेवकहरूले विद्यालयमै पुगेर विद्यार्थीहरूलाई दैनिक जीवनमा पानी बचत गर्ने व्यवहारिक उपायहरू सिकाइरहेका छन्।
पानीको खपत घटाउने, वर्षाको पानी संकलन गर्ने, धारामा चुहावट भए मर्मत गर्ने, नुहाउँदा तथा कपडा धुँदा कम पानी प्रयोग गर्ने, त्यसपछि बचेको पानी शौचालय वा करेसाबारीमा प्रयोग गर्ने, खुल्ला धाराहरू बन्द गर्ने लगायतका उपायहरूबारे जानकारी दिइएको छ।
सामुदायिक विद्यालयहरूमा एक सातासम्म अभियान सञ्चालन गरिने जानकारी अध्यक्ष देवानले दिए। अभियान अन्तर्गत सोमबार नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय र अलपाइन माविमा विशेष कार्यक्रम गरी विद्यार्थीहरूलाई व्यवहारिक तवरमा पानीको संरक्षण गर्ने तरिका सिकाइएको छ।
स्थानीय तह तथा सरोकारवाला निकायको सहकार्यमा अघि बढाइएको यो अभियानले पानी संकटग्रस्त क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।