पचरौता नगरपालिकाले जमुनी नदीमा उच्च बाँध निर्माण शुरू गर्ने तयारी, सिंचाइमा राहतको आशा

सिमराः निरन्तर वर्षा नपर्दा सिंचाइ संकटमा परेका पचरौता नगरपालिकाका किसानहरूका लागि राहतको पहलस्वरूप पचरौता नगरपालिकाले जमुनी नदीमा उच्च बाँध (हाइड्याम) निर्माण गर्ने तयारी गरेको छ। नगर प्रमुख जलन्धर सिंहले जमुनी नदीस्थित ब्यारेजको स्थलगत अवलोकन गरेका छन् ।
अवलोकनमा वडा नं. ५ का अध्यक्ष तथा नगर प्रवक्ता लक्ष्मी यादव, मकबूल मियाँ अंसारी, गगनदेव प्रसाद यादव, वडा सदस्यलगायतको उपस्थिति थियो। नगर प्रमुख सिंहले मौसम अनुकूल भए बाँध निर्माण कार्य सुरु गर्ने जानकारी दिए। बाँध निर्माणले जमुनी नदीको पानी व्यवस्थापन गरी स्थानीय किसानलाई धानबाली लगायतका बालीमा सिंचाइ सुविधा पुग्ने अपेक्षा गरिएको छ।
यस कदमले किसानको उत्पादनमा वृद्धि हुने र खाद्य सुरक्षामा समेत टेवा पुग्ने नगरपालिकाको विश्वास छ। यसैगरी पचरौता ८ अमरपट्टीमा पर्ने खबखबैया पैनीको पनि स्थलगत निरीक्षण गरिएको छ। नगर प्रमुख सिंहसहितको टोलीले उक्त क्षेत्रको रेखदेख र पैनीको व्यवस्थापन सम्बन्धमा अध्ययन गरेको हो।
खबखबैया पैनी सिंचाइका लागि अति महत्त्वपूर्ण मानिन्छ र त्यसलाई अझ व्यवस्थित बनाउने उपायमा समेत नगरपालिकाले ध्यान केन्द्रित गरिरहेको जनाएको छ। नगर प्रमुख सिंहले आगामी दिनमा सिंचाइ पूर्वाधारलाई प्राथमिकतामा राखेर किसानको जीवनस्तर सुधार गर्न योजनाबद्ध ढंगले अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।