सर्लाहीको चन्द्रनगरमा पुरानो घर भत्किँदा ६ वर्षीय बालकको मृत्यु

सिमराः सर्लाहीको चन्द्रनगर गाउँपालिकामा मंगलबार दिउँसो पुरानो घर भत्किँदा आँगनमा खेलिरहेका एक बालकको च्यापिएर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका–६ कामद टोल निवासी गौतम माझीका ६ वर्षीय छोरा अरुण माझी रहेका छन्। अपराह्न करिब साढे ४ बजे स्थानीय नबिन सिंहको दुईतले पुरानो पक्की घर अचानक भत्किँदा उनी आँगनमा खेलिरहेका थिए।
घर भत्किएसँगै अरुण माझी माटो र इँटाको ढिस्कोमा च्यापिएर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरिएको भए पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
घटनाको खबर पाउनासाथ प्रहरी चौकी नाढीमन र इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। इलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा जेसीबीसहितको टोलीले उद्धार गरेको थियो।