बारामा ब्राउन सुगरसहित एक जना पक्राउ


eShilalekh

१५ श्रावण २०८२, बिहीबार १४:११

सिमराः बारा प्रहरीले बुधवार साँझ लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विश्रामपुर गाउँपालिका १ घोडासाहनका २२ वर्षीय अजमुलहक अंसारी रहेका छन् ।

बाराको फेटा गाउँपालिका १ भलुहीस्थित सडकखण्डमा प्रहरीले लागूऔषध ब्राउनसुगरसहित अंसारीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले कलैया बजारबाट प्रसौनीतर्फ पैदल जाँदै गरेका अंसारीलाई रोकेर खानतलासी गर्दा उनको साथबाट लागूऔषध बरामद भएको बारा प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले बताएका छन् ।

प्लास्टिकमा लुकाईछिपाई राखेको अवस्थामा ब्राउन सुगर सुख्खा पदार्थ करिब ६०० मिलिग्राम र ब्राउन सुगर लेदो पदार्थ १४६ ग्राम ५८० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।

लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय प्रसौनीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्