पकहाँ मैनपुरमा परालमा लुकाइएको ४० किलो गाँजा बरामद

वीरगन्जः पर्साको पकहाँ मैनपुर गाउँपालिका २ सुर्जाहाबाट प्रहरीले ४० किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ । परालको थुप्रोमा लुकाएर राखिएको अवस्थामा तीन बोरामा प्याक गरिएको गाँजा शुक्रबार दिउँसो फेला परेको हो ।
ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।
उनका अनुसार गाँजा बेवारिसे अवस्थामा फेला परेको थियो र कसले राखेको भन्ने विषयमा अनुसन्धान जारी छ। बरामद गरिएको गाँजा परीक्षण तथा नष्ट गर्न प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
यसअघि पनि सोही क्षेत्रमा लागुऔषध कारोबार बढ्दो देखिएको छ । असार ३२ गते मात्र प्रहरीले सोही गाउँबाट करिब दुई सय किलोग्राम गाँजा बरामद गरेको थियो ।
प्रहरीका अनुसार मकवानपुरका विभिन्न क्षेत्रबाट जंगलको बाटो हुँदै पटेर्वा सुगौली क्षेत्रमा प्रवेश गराउने गरी पर्सामा गाँजा ओसारपसार हुने गरेको छ। प्रहरीले यस्तो गतिविधि नियन्त्रण गर्न निगरानी अझ कडा पारिएको जनाएको छ ।