उद्योगको प्रदूषित पानीमा डुबेर बालकको मृत्यु, आक्रोशित स्थानीयद्वारा शव तेर्साएर प्रदर्शन

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका ५ स्थित कुलोमा उद्योगबाट निस्किएको प्रदूषित पानीमा डुबेर १३ वर्षीय सन्दीप मुखियाको मृत्यु भएको घटनाले स्थानीयबासी आक्रोशित बनेका छन्। मृतकका आमा अञ्जु मुखियासहित स्थानीयले शनिबार जीतपुरसिमरा ३ स्थित गणपति र नन्दन उद्योगको गेट अगाडि बालकको शव तेर्साएर प्रदर्शन गरेका हुन्।
जीतपुरसिमरा ५ को सिरसिया कुलो (बर्खि बाँध) मा डुबेर शुक्रबार बालकको मृत्यु भएको थियो। उक्त कुलोमा गणपति घ्यू, नन्दन घ्यू, अशोक स्टीललगायतका उद्योगबाट प्रशोधन नगरी निस्कने रसायनयुक्त प्रदूषित पानी बग्ने गरेको छ। शल्य परीक्षणका क्रममा बालकको मृत्यु विषाक्त पानीकै कारण भएको पुष्टि भएको नारायणी उपक्षेत्रीय अस्पताल स्रोतले जनाएको छ।
घटनापछि आक्रोशित स्थानीयले उद्योगको लापरवाहीले बालकको ज्यान गएको भन्दै क्षतिपूर्ति र दोषी उद्योगमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्। इलाका प्रहरी कार्यालय सिमराका डीएसपी वेदप्रकाश जोशीले उद्योग अगाडि पीडित परिवार र स्थानीय प्रदर्शनमा बसेको र पीडित पक्ष, जनप्रतिनिधि र उद्योग प्रशासनबीच छलफल भइरहेको जानकारी दिए।
यता जीतपुरसिमरा उपमहानगरपालिकाले शनिबार नै उद्योगले प्रदूषित पानी छोड्ने स्थानमा डोजर लगाएर ह्युमपाइप हटाउँदै खाल्डो पुरेको छ। यसअघि पनि नगरपालिकाले उद्योगको पर्खाल भत्काएर ह्युमपाइप हटाएको थियो। तर उद्योगले पुनः ह्युमपाइप जडान गरी प्रशोधन नगरी प्रदूषित पानी छोड्दै आएको स्थानीयले गुनासो गरेका छन् ।
स्थानीय सरकारले पटकपटक कारबाही गरे पनि अटेर गर्दै आएको उद्योगका कारण बस्तीका नागरिक प्रभावित बनेका छन् भने प्रदूषित पानीका कारण वातावरणमा समेत गम्भीर असर परिरहेको छ। घटनापछि स्थानीयमा आक्रोश र चिन्ता बढेको छ।