कक्षा १२ को परीक्षाफल आज प्रकाशित हुँदै

सिमराः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नतिजा सोमबार साँझ ५ बजेपछि सार्वजनिक गर्ने तयारी गरेको छ ।
बोर्ड स्रोतका अनुसार नतिजा प्रकाशनको अन्तिम तयारी पूरा भइसकेको र आज साँझ बोर्डको बैठक बसेपछि नतिजा सार्वजनिक गरिनेछ ।
पठनपाठन तथा मूल्याङ्कनमा ढिलाइ भए पनि बोर्डले साउन १५ भित्र नतिजा सार्वजनिक गर्ने वार्षिक कार्यतालिकाअनुसार प्रक्रिया अघि बढाएको हो । तर, गत २० चैतदेखि सुरु भएको शिक्षक आन्दोलनका कारण समयमै नतिजा सार्वजनिक गर्न ढिलाइ भएको बोर्डले जनाएको छ ।
यस वर्ष कक्षा १२ को परीक्षामा देशभरबाट पाँच लाख ११ हजार पाँच सय २५ परीक्षार्थी सहभागी भएका थिए । बोर्डका अनुसार मूल्याङ्कन, प्रविष्टि र परीक्षणका सम्पूर्ण चरण सकिएको छ र आज बैठकपछि नतिजा वेबसाइट तथा एसएमएसमार्फत सार्वजनिक गरिनेछ ।
विद्यार्थी तथा अभिभावकहरू बोर्डको आधिकारिक वेबसाइट www.neb.gov.np, www.neb.ntc.net.np तथा नेपाल टेलिकमको एसएमएस सेवा मार्फत नतिजा हेर्न सक्नेछन् ।