किशोरीलाई बलत्कार गरी फरार रहेका दुई पुरुष तीन महिनामा पक्राउ

वीरगन्जः तीन महिनाअघि एक किशोरीलाई वीरगन्जस्थित लजमा राखी बलत्कार गरेर फरार रहेका दुई पुरुषलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका २ का ४० वर्षीय नेक महमद र रौतहटका २१ वर्षीय अफताब अन्सारी रहेका छन् । नेक महमद वीरगन्ज १३ मा रहेको मोटरसाइकल वर्कशपका सञ्चालक हुन् भने अफताब सोही वर्कशपमा कार्यरत थिए ।
पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार उनिहरुले बैशाख २० गते पर्साकी एक १७ वर्षीया किशोरीलाई बाटोबाट नियन्त्रणमा लिएर वीरगन्ज १० मा रहेको गणेश होटल एण्ड लजको दोस्रो तल्लाको कोठामा राखेर तीन दिनसम्म बलत्कार गरेका थिए ।
पीडितको जाहेरी अनुसार किशोरीलाई तीन दिनसम्म उक्त होटलको कोठामा राखिएको थियो । तीन दिनपछि वैशाख २३ गते वीरगन्जको घडिअर्वा पोखरी नजिक छाडेर उनिहरु फरार भएका थिए ।
किशोरीको उजुरीको आधारमा प्रहरीले अनुसन्धान जारी राखेको थियो । अनुसन्धानकै क्रममा तीन महिनापछि मंगलबार दिउँसो दुबै जनालाई वीरगन्ज १५ स्थित प्रतिमा चोकबाट पक्राउ गरिएको डीएसपी लम्सालले जानकारी दिए ।
दुवैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी ‘अपहरण तथा शरीरबन्धक’ र ‘बाल यौन दुर्व्यवहार’ सम्बन्धी कसुरमा अनुसन्धान थालिएको छ । पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान अगाडि बढाइएको डीएसपी लम्सालले बताए ।