सप्तरीमा मदिरा नियन्त्रण अप्रेसनमा गोली चल्दा एकजनाको मृत्यु, स्थानीयद्वारा प्रदर्शन सुरु

सप्तरीः सप्तरीमा मदिरा नियन्त्रणको क्रममा मंगलबार राति प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजगड गाउँपालिका–२ निवासी लालु यादव रहेका छन्।
मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार, मदिरा भण्डारण गरिएको ठाउँमा राति सर्च अप्रेसन गर्दा प्रहरी र मदिरा तस्करबीच झडप भएको थियो।
तस्करहरूले प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा प्रहार गर्न थालेपछि आत्मरक्षाको लागि प्रहरीले सात राउन्ड गोली चलाएको प्रहरीले जनाएको छ। त्यस क्रममा यादवको तिघ्रामा गोली लाग्दा उनी घाइते भएका थिए।
घाइते यादवलाई उपचारकालागि अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीको गोली लागेर यादवको मृत्यु भएपछि स्थानीयले राजविराजमा प्रदर्शन सुरु गरेका छन्। बिहान १० बजेदेखि जिल्ला प्रहरी कार्यालय सप्तरीको अगाडि टायर बालेर प्रदर्शन भइरहेको छ।
स्थानीयले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। उनीहरूको दाबी छ कि प्रहरीले तस्करी नियन्त्रणको नाममा निर्दोषमा गोली चलाएर हत्या गरेको हो।
मृतक यादवको शव गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा राखिएको छ। आफन्त घटनास्थलको मुचुल्का गर्न तयार भए पोस्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताए।