रसुवागढीमा बेपत्ता प्रहरी जवान ठाकुरको कुशको शव बनाएर अन्त्येष्टी


eShilalekh

२३ श्रावण २०८२, शुक्रबार १५:०१

सिमराः नेपाल–चीन सिमानास्थित रसुवागढीमा गत असार २४ गते बाढीमा बेपत्ता भएका प्रहरी जवान मुन्ना ठाकुरको अवस्था अज्ञात बनेपछि परिवारले शुक्रबार कुशको शव बनाएर अन्त्येष्टी गरेका छन् । घटना भएको एक महिनासम्म पनि शव नभेटिएपछि उनका परिवारले ३२औं दिनमा कुशको शव बनाएर अन्त्येटी गरेका हुन् ।

बाराको फेटा गाँउपालिका १ घर भएका २४ वर्षीय प्रहरी जवान ठाकुर रसुवाको नेपाल–चीन सीमा नाकामा रहेको ल्हेन्दे खोलामा आएको बाढीमा बेपत्ता भएका थिए । बाढीले नेपालमा सीमा क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।

सो बाढीमा बेपत्ता भएका ठाकुर जिल्ला प्रहरी कार्यालय पर्सा दरबन्दी भई ईलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए । उनि बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएका थिए । सोही बेला बेपत्ता भएका ठाकुरको अवस्था त्यसयता अज्ञात छ ।

बाढीमा परी ठाकुरसहित ईलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ र प्रहरी जवान लोकेन्द्र बोहोरा गरी २० जना बेपत्ता भएका थिए । बेपत्तामध्ये प्रहरी सहायक निरीक्षक श्रेष्ठको शव असार २५ गते चितवनको त्रिशूली नदी किनारमा फेला परेको थियो । सो बाढीमा १९ जनाको अवस्था अझै अज्ञात छ ।

बेपत्ता हुनेमा ६ जना चिनियाँ नागरिक, ११ जना स्थानीय र दुई प्रहरी जवान छन् । शव भेटिने सम्भावना नदेखेपछि परिवारले धार्मिक विधिअनुसार ठाकुरको अन्तिम संस्कार गरेका हुन् । कुशको शव बनाएर गरिएको अन्तिम बिदाईका क्रममा ठाकुरकी पत्नी गुञ्जासहित परिवारका सदस्य र आफन्त मुर्छित बनेका थिए । प्रहरी जवान ठाकुरको एक छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्