मधेस प्रदेशसहित देशभर डेंगु संक्रमण बढ्दो, मधेसमा १८ जनामा संक्रमण पुष्टि


eShilalekh

२९ श्रावण २०८२, बिहीबार १५:४८

सिमराः पछिल्लो समय मधेस प्रदेशसहित देशभर डेंगुको संक्रमण तीव्र रूपमा फैलिँदै गएको छ । पुष महिनायता मधेसमा १८ जनामा डेंगु संक्रमण देखिँदा देशभर दुई हजार नौ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पछिल्ला तथ्यांकअनुसार डेंगु संक्रमण ७४ जिल्लामा फैलिएको छ । बागमती प्रदेशमा सबैभन्दा धेरै दुई सय ९८ जना संक्रमित देखिएका छन् भने कोशीमा ४७, गण्डकीमा २७, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२ र कर्णालीमा ६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । गत एक हप्तामा मात्रै एक सय ८० नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य विज्ञहरूका अनुसार वास्तविक संक्रमित संख्या रिपोर्ट भएकाभन्दा धेरै गुणा बढी हुनसक्छ । ईडीसीडीका किटजन्य रोग नियन्त्रण कार्यालयका अनुसार लक्षण नदेखिने धेरै बिरामी स्वास्थ्य संस्थामा नजाने, परीक्षण नहुने वा रिपोर्ट नहुने भएकाले सरकारी तथ्यांक वास्तविक अवस्थाको सानो अंश मात्र हो ।

नेपालमा पहिलो पटक सन् २००४ मा चितवनमा एक विदेशी नागरिकमा डेंगु पत्ता लागेपछि यस रोगको फैलावट क्रमशः तीव्र भएको हो । पछिल्ला वर्षहरूमा यो रोग स्थानीय रूपमा फैलिन थालेको र वर्षभरि जोखिम रहिरहेको विज्ञहरूको भनाइ छ । सन् २०२२ मा सबै ७७ जिल्लामा ५४ हजारभन्दा बढी संक्रमित हुँदा ८८ जनाको मृत्यु भएको थियो । सन् २०२३ मा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए भने २० जनाको मृत्यु भएको थियो ।

यो वर्ष ईडीसीडीले सबैभन्दा खराब अवस्थामा ६० हजारसम्मलाई डेंगु संक्रमण हुनसक्ने अनुमान गरेको छ । डेंगु फैलिनुको प्रमुख कारणमा अव्यवस्थित फोहोर व्यवस्थापन, पानी जम्मा हुने स्थान, जलवायु परिवर्तन, बढ्दो तापक्रम र जनघनत्वलाई देखाइएको छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार डेंगु नियन्त्रणका लागि ‘खोज तथा नष्ट’ अभियान सबैभन्दा प्रभावकारी उपाय हो, जसका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य छ । वर्षामा जमेको पानी, पुराना टायर, बोतल, ड्रम, गमला, पानी ट्यांकी आदिमा लामखुट्टेले अण्डा पार्ने भएकाले यस्ता स्थानहरू सफा राख्नुपर्ने चेतावनी दिइएको छ ।

डेंगुका बिरामीमा दुई देखि सात दिनसम्म ज्वरो आउन सक्ने र ज्वरो घटेपछि २४ देखि ४८ घण्टामा जटिल अवस्था देखिन सक्ने भएकाले, रक्तस्राव, श्वासप्रश्वासमा कठिनाइ, पेट दुखाइ, कालो दिसा वा रगत देखिए तुरुन्त अस्पताल जान स्वास्थ्यकर्मीहरूले सल्लाह दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्