प्रधानमन्त्री ओलीद्धारा महोत्तरीको सोनमामा कालोपत्रे सडक शिलान्यास

महोत्तरी: प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको सोनमामा कालोपत्रे सडक निर्माणको शिलान्यास गरेका छन्। विश्व बैंकको अनुदान ऋणमार्फत निर्माण हुने उक्त सडक ८.३८४ किलोमिटर लम्बाइको हुनेछ।
रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर सडक आयोजना अन्तर्गत १९ करोड ७ लाख ८३ हजार ६१८ रुपैयाँमा सम्झौता भई २०८३ चैत ११ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सडकको औसत चौडाइ ८.५० देखि १०.५० मिटर रहनेछ। गाडी चल्ने भाग ५.५ मिटर कालोपत्र हुनेछ भने दुवैतर्फ १.५ मिटर चौडाइको सोल्जर निर्माण गरिनेछ।
पूर्वाधार विकास कार्यालय जलेश्वरका अनुसार सडक निर्माणसँगै १७६० मिटर लम्बाइको ढल र कल्भर्ट पनि बनाइनेछ। यो सडक सोनमा गाउँपालिका ३ को रघुनाथपुरबाट सुरु भई वडा नं. १, २, ३ र ७ का बस्ती हुँदै सुन्दरपुरसम्म पुग्नेछ।
विश्व बैंकको अनुदान ऋणमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रममार्फत मधेश प्रदेशका २१ स्थानीय तहका केन्द्रलाई पक्की सडक सञ्जालसँग जोड्ने, १०८ किमि कालोपत्र सडक निर्माण, १८० किमि बृहत् मर्मत तथा १ हजार किमि सडकको नियमित मर्मतसम्भार गर्ने योजना छ।
नेपाल सरकार र अन्तर्राष्ट्रिय विकास संघबीच सन् २०२४ अगस्ट २ मा वित्तपोषण सम्झौता भएको यो आयोजना पहिलो चरणमा ८ अक्टोबर २०२४ देखि १५ जुलाई २०२९ सम्म लागू हुनेछ।