रौतहटमा ठूलो परिमाणमा अवैध सुर्ती बरामद

रौतहटः रौतहटको ईशनाथ नगरपालिका ४ मठिया गाउँ नजिकै सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध सुर्ती बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा आइतबार राति करिब १२ बजे सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतको नेतृत्वमा औरैयास्थित बीओपीका ईन्चार्ज इन्स्पेक्टर खेमराज जोशीसहितको टोलीले खोजतलासी सञ्चालन गरेको थियो ।
खोजतलासीका क्रममा चुमन मियाको धानखेतमा लुकाइराखिएको ३० बोरा (करिब सात सय ४५ किलो) सुर्ती तथा सुर्तिजन्य पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको सुर्तीको मूल्य करिब तिन लाख ६२ हजार सात सय ५० रुपैयाँ बराबर अनुमान गरिएको छ । सशस्त्र प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सामग्री गौर भन्सार कार्यालयमा बुझाएको छ ।