वीरगन्जमा हैजाको प्रकोपः विद्यालय थप तीन दिन बन्द


eShilalekh

१० भाद्र २०८२, मंगलवार १७:५३

वीरगन्जः वीरगन्ज महानगरपालिकाले समुदायमा फैलिएको हैजा संक्रमणको प्रकोपलाई मध्यनजर गर्दै शैक्षिक संस्थाहरू थप तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाले भदौ ११ गतेदेखि १३ गते (शुक्रबार) सम्म महानगरपालिका अन्तर्गत सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि शनिबार जारी गरिएको सूचनाअनुसार आइतबार र सोमबारका लागि दुई दिन विद्यालय बन्द गरिएको थियो ।

विद्यालय बन्द भएको अवधिमा शिक्षक र कर्मचारीहरूलाई टोली बनाएर समुदायमा हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न महानगरपालिकाले निर्देशन दिएको छ ।

शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेका अनुसार विद्यालयहरूले हैजा नियन्त्रणसम्बन्धी पोस्टर, पम्प्लेट र जनचेतनामूलक सामग्रीहरू शैक्षिक प्रशासन महाशाखाबाट प्राप्त गर्न सक्नेछन् ।

महानगरपालिकाले हैजा नियन्त्रणका लागि प्रयास तीव्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस्