आधाभारमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

सिमराः बाराको अमलेखगञ्जमा बाघको आक्रमणबाट बुधबार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका २२ का ५५ वर्षीय कृष्ण प्रसाद शर्मा रहेका छन् ।
शर्मा बिहान स्कुटी लिएर घाँस काट्न गएका थिए । अबेरसम्म घर नफर्किएपछि परिवारजनले उनको खोजि थालेका थिए । खोजतलासको क्रममा स्कुटी र काटिएको घाँस फेला परेको थियो भने शर्मा हराईरहेका थिए । परिवारले उनि हराएको उजुरी प्रहरीमा दिएका थिए ।
उजुरी प्राप्त गरेपछि ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा प्रहरी निरीक्षक जय प्रकाश साहको नेतृत्वमा खटिएको प्रहरी टोलिले खोजतलासको क्रममा आधाभार जङ्गलमै शर्माले प्रयोग गर्ने चप्पल र केहि मात्रामा रगत देखिएको प्रहरीले जनाएको छ ।
आधाभार ब्यारेकबाट खटिएको नेपालि सेना टोलि, प्रहरी टोलि, वडा नं २१ र २२ का वडा अध्यक्षलगायतका संयुक्त टोलिले पुनः खोजी गर्दा सडकबाट करिब तीन सय मिटर पूर्वतर्फ जङ्गलभित्र बाघको आक्रमणबाट मृत अवस्थामा शर्माको शव फेला परेको हो । शव घोप्टो अवस्थामा फेला परेको र मृतकको टाउको नरहेको प्रहरीले जनाएको छ ।