रौतहटमा ट्रयाक्टर चोरीमा संलग्न दुई जना पक्राउ

रौतहटः रौतहट प्रहरीले ट्रयाक्टर चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका ३ का १९ वर्षीय बिजेन्द्र दास र वडा नं. ७ का २६ वर्षीय विनोद पण्डित रहेका छन् ।
प्रहरीका अनुसार वृन्दावन ९ का शैलेन्द्र राउत कुर्मीको खेतमा रहेको प्रदेश २–०३–००१ त १९२४ नम्बरको ट्रयाक्टर गत साउन ८ गते राति करिब १२ बजे चोरी भएको थियो ।
चोरी भएको ट्रयाक्टर भोलिपल्ट सर्लाहीस्थित ईश्वरपुर नगरपालिका ११ सडक छेउ खाल्डोमा फेला परेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी दिए । प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गर्दै जाँदा घटनाको १ महिना पछि ट्रयाक्टर चोरीमा संलग्न दुईजना लाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूलाई चोरीमा संलग्न रहेको अभियोगमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।