पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको राजमार्गमा सवारी साधन रोक्न निषेध


eShilalekh

१२ भाद्र २०८२, बिहीबार २०:४१

निकुञ्जले पनि राजमार्ग क्षेत्रमा नियमित अनुगमन गर्ने

सिमरा: हिंस्रक वन्यजन्तुको गतिविधि बढेपछि पर्सा राष्ट्रिय निकुञ्जले वरपरको राजमार्ग क्षेत्रमा सवारी साधन रोक्न निषेध गरेको छ। बाघ, चितुवा, हात्ती जस्ता जनावरको चहलपहल बढेसँगै मानवीय क्षति हुन नदिन यस्तो निर्णय गरिएको हो ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बिहीबार पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई पत्र पठाउँदै पथलैया-अमलेखगञ्ज र पथलैया-निजगढ सडकखण्डको जंगल क्षेत्रमा सवारी साधन रोक्न नदिन सहयोग मागेका छन् ।

खतिवडाले पत्रमा निकुञ्ज र वन क्षेत्रमा सवारी रोक्दा यात्रु आक्रमणमा पर्ने जोखिम उच्च हुने भन्दै स्थायी रूपमा रोक्न निषेध गर्नुपर्ने बताएका छन्। उनले ट्राफिक प्रहरीले सक्रियता देखाए निकुञ्जले पनि राजमार्ग क्षेत्रमा नियमित अनुगमन गर्ने जानकारी दिएका छन् ।

निकुञ्जका अनुसार पछिल्लो समय सो क्षेत्रमा बाघ, चितुवा र हात्तीको गतिविधि बढ्दो छ। खतिवडाले आम नागरिकलाई पनि सचेत रहन आग्रह गरेका छन् ।

यसैबीच बुधबार बिहान पथलैया-अमलेखगञ्ज सडकखण्डको आधाभार जंगलमा जीतपुरसिमरा २२ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा मृत भेटिएका थिए। घाँस लिन गएका शर्मालाई बाघले आक्रमण गरेको आशंका गरिएको छ ।

शर्माको शव राजमार्गबाट करिब तीन सय मिटर भित्र फेला परेको थियो। उनको टाउको र शरीर छुट्टिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए। घटनाको प्रकृति हेर्दा बाघको आक्रमण नै हुनसक्ने उनको भनाइ छ ।

यसअघि असार ४ गते जीतपुरसिमरा–२१ को जंगलमा बाघको आक्रमणमा परी ५० वर्षीय चन्द्रबहादुर ब्लोनको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्