शिवम साह हत्या प्रकरणः मुख्य आरोपीसहित पाँच जना पक्राउ

वीरगन्जः पर्सा प्रहरीले शिवम साह कानुको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरी बिहिबार सार्वजनिक गरेको छ । प्रहरीले पत्रकार सम्मेलनको आयोजना गर्दै घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका २४ रामगढवाका १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय करण प्रसाद पटेल उर्फ अमिरी पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन् ।
पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकका अनुसार पक्राउ परेका मध्य तीन जनालाई घटनाको राति नै वीरगन्जबाट पक्राउ गरिएको हो । बाँकी फरार भएका दुई जनालाई भारतको बिहार राज्य अन्तर्गत पश्चिमी चम्पारण जिल्लाको बल्थर गाउँबाट भारतीय सुरक्षाकर्मीहरूको समन्वयमा बुधबार पक्राउ गरिएको हो ।
घटनास्थलबाट प्राप्त विभिन्न प्रमाण, भिडियो–फुटेजका आधारमा आरोपीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो रिस–प्रतिशोधका कारण कुटपिट गरी हत्या गरिएको तथ्य खुलेको छ ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान भइसकेको छ । उनीहरूलाई पक्राउ गर्न खोजी कार्य तीव्र रूपमा अघि बढाइएको एसपी पाठकले बताएका छन् ।
गत मंगलबार राति वीरगन्जको गीता मन्दिर रोडमा दुई युवा समूहबीच भएको झडपमा साहमाथी चक्कु प्रहार भएको थियो । गम्भीर घाइते अवस्थामै अस्पताल पुर्याइएका उनलाई चिकित्सकहरूले मृत घोषित गरेका थिए।