बालिकालाई दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ


eShilalekh

६ कार्तिक २०८३, शुक्रबार २०:३०

जनकपुर: धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२० मा एक बालिकालाई दुर्व्यवहार तथा ब्ल्याकमेल गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा जनकपुरधाम उपमहानगरपालिका-२० का २३ वर्षीय सुकन महतो, २६ वर्षीय सन्तोष कुमार दास, २२ वर्षीय पनेश कुमार महतो र ३० वर्षीय सुजित महतो रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत असोज ४ गते राति करिब ८ बजे पैदल हिँडिरहेका एक युवक र एक बालिकालाई दुईवटा मोटरसाइकलमा आएका चार जनाको समूहले घेराबन्दी गरी नियन्त्रणमा लिइएको थियो। मोटरसाइकलमा आएका समूहले पीडितहरूको भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल गरिदिने धम्कीसमेत दिएका थिए।

आरोपीहरूले पीडितका अभिभावकलाई फोनमार्फत डर र त्रास देखाई तत्कालै मोबाइल बैंकिङमार्फत ६ हजार रुपैयाँ रकम समेत असुल गरेका हुन्। ब्ल्याकमेलिङका क्रममा बालिकाको संवेदनशील अङ्गमा गलत मनसायले छोएर यौन दुर्व्यवहार समेत गरिएको धनुषाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रसाद खनालले जानकारी दिए ।

प्रहरीले घटनामा प्रयोग भएका ज १२ प ७७७ र मधेस प्रदेश ०२-०९ प २९०२ नम्बरका दुईवटा मोटरसाइकलसमेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्