सिरहामा स्रोत नखुलेको आठ लाख रकमसहित एक जना पक्राउ

सिरहाः सिरहा प्रहरीले आइतबार राति स्रोत नखुलेको ठूलो रकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा कल्याणपुर नगरपालिका १ बनिनियाका ३० वर्षीय राशिन्द्र मण्डल रहेका छन् ।
प्रहरी चौकी लकडिगदियानीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदैगरेको म.प्र.०२–०१–००३ प२१०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मण्डलले बोकेको कालो झोलाभित्र स्रोत नखुलेको आठ लाख २५ हजार नेपाली रुपैयाँ बरामद गरेको हो ।
नगद रकमका साथै प्रहरीले दुई थान कपाली तमसुक, आरूष रेमिटेन्सको एक थान स्टाम्प, विभिन्न बैंकका पाँच थान एटीएम कार्ड र पाँच थान चेकबुकसमेत बरामद गरेको प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए ।
बरामद सामानसहित मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
