वीरगन्जबाट ठूलो परिमाणमा अवैध सुन, चाँदी र नगद बरामद

वीरगन्जः सशस्त्र प्रहरी बल पर्सा र राजस्व अनुसन्धान कार्यालय बाराको संयुक्त टोलीले वीरगन्जबाट ठूलो परिमाणमा अवैध सुन, चाँदी र नगद बरामद गरेको छ ।
वीरगन्ज महानगरपालिका ६ माईस्थानस्थित अभिषेक ज्वेलर्सका सञ्चालक अभिषेक सर्राफको घरबाट प्रहरीले ठूलो परिमाणमा अवैध सुन, चाँदी र नगद बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण मुख्यालय पर्सा र राजस्व अनुसन्धान कार्यालय बाराको संयुक्त टोलीले सर्राफको घरमा खानतलासी गर्दा सुन दुई हजार २५४.८६ ग्राम (करीब २.२५ किलो), चाँदी १० हजार ३५४.०७ ग्राम (करीब १०.३५ किलो), सुन जस्तो देखिने ५५९.१० ग्राम, चाँदी जस्तो देखिने ५५० ग्राम बरामद गरेको छ ।
साथै नगद नेपाली रुपैयाँ एक लाख ९ हजार र भारतीय रुपैयाँ ४१ हजार ६० बराबरको रकम फेला परेको सशस्त्र प्रहरी प्रवक्ता सुरज कार्कीले जनाएका छन् ।
बरामद वस्तुहरू सुनचाँदी व्यवसायी संघ पर्सामा मापन गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।