हातेमालोमा नयाँ नेतृत्व, अध्यक्षमा रामचन्द्र पौडेल चयन

सिमराः बाराको सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा रामचन्द्र पौडेल चयन भएका छन् । सिमरामा शनिबार सम्पन्न १८औं वार्षिक साधारणसभाले संस्थाको अध्यक्षमा पौडेललाई चयन गरेको हो ।
पौडेलको नेतृत्वमा चयन भएको संचालक समितिको उपाध्यक्षमा मनकुमारी खनाल, सचिवमा चुडामणी गौतम (राजु) र कोषाध्यक्षमा पेशल मुल्मी चयन भएका छन् । यसैगरी संचालक सदस्यमा बिनामाया गुरुङ, पासपतप्रसाद साह, अजय विक, मञ्जु दाहाल र राजु पौडेललाई चयन गरिएको छ ।

यसैगरी संस्थाका पूर्वअध्यक्ष यज्ञबहादुर आले लेखा समिति संयोजकमा चयन भएका छन् । आले नेतृत्वको लेखा समितिमा हेमराज न्यौपाने र सुनिता सापकोटा सदस्य छन् ।
जेष्ठ नागरिक देवीभक्त लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री पुरुषोत्तम पौडेल, पूर्व प्रदेशसभासदस्य सुन्दर विक, सीता गुरुङ, कृष्णव्रत सिंहलगायतको उपस्थिती रहेको थियो ।
को हुन् अध्यक्ष रामचन्द्र पौडेल?
अध्यक्षमा निर्वाचित रामचन्द्र पौडेल जीतपुरसिमरा उपमहानगरपालिकाका संस्थापक नगर प्रमुख एवम् हातेमालो सहकारीका संस्थापक अध्यक्ष स्व. डा. कृष्ण पौडेलका भाइ हुन् ।
संचालक समिति सदस्यका रुपमा एक कार्यकाल र लेखा समिति संयोजकको रुपमा एक कार्यकाल काम गरेका पौडेल यसपटक सर्वसम्मत् रुपमा अध्यक्ष चयन भएका हुन् । उनी लेखापरिक्षण व्यवसायमा आवद्ध छन् ।
अघिल्लो पटक लेखा समितिमा संयोजकका रुपमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उनलाई अध्यक्षका रुपमा अघि सारिएको हो । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको सहकारी नियमावलीमा संस्थाको अध्यक्ष हुन् कम्तीमा एक कार्यकाल पदाधिकारी वा लेखा समिति संयोजक भएको हुनुपर्ने व्यवस्था समेत छ ।
२०६५ सालमा स्थापित हातेमालो सहकारीमा चार हजार भन्दा बढी शेयर सदस्य छन् ।





