‘होटल इच्छा’ : सिमरामा जन्मिएको ब्रान्ड


eShilalekh

२० मंसिर २०८२, शनिबार १९:२५

सिमराः झण्डै एक दशकअघि सिमराको सामान्य मानचित्रमा उदाएको नाम हो ‘होटल इच्छा’ । त्यतिबेला सिमरा भन्नेबित्तिकै धेरैको मानसपटलमा विमानस्थल र औद्योगिक करिडोर मात्र आउँथ्यो । सुविधासम्पन्न ठूला होटल कल्पनामा पनि थिएन ।

यसबीचमै सिमराले एउटा नयाँ नाम पायो ‘होटल इच्छा’ । त्यतिबेला यो नामले धेरैलाई छुन सकेन । तर आज यो नाम केवल एक नाम मात्र नभई सिमराको पहिचान, पर्यटनको आधारस्तम्भ र होटल व्यवसायको क्षेत्रमा उदीयमान ‘ब्रान्ड’ बनेको छ । जुन ब्राण्ड आज देशमै स्थापित छ । यसलाई पछ्याउँदै आउनेको संख्या बढ्दो छ ।

देशभित्रको होटल तथा पर्यटनको क्षेत्रमा आफ्नो झण्डा फहराउन सफल इच्छा ब्राण्डका संस्थापक हुन्, इच्छाबहादुर वाग्ले । जो झण्डै साढे तीन दशकदेखि होटल व्यवसायमा सक्रिय छन् । उनैले होटल इच्छालाई सिमरामा स्थापना गर्ने निर्णय गरे । जुन निर्णयले उनी मात्रै सफल भएनन् सिमरालाई समेत परिचित बनाउन भूमिका खेल्यो । होटलकै कारण परिचय फराकिलो पार्ने अवसर पाएको सिमराले पनि एउटा ब्राण्ड स्थापित गराउन सफल भयो ।

वाग्ले २०४९ सालदेखिनै होटल व्यवसायमा आवद्ध व्यवसायी हुन् । नगरकोटबाट उनले होटल व्यवसायमा हात हालेका थिए । नगरकोटको चौतारी होटल त्यहाँका लागि परिचित नाम हो । त्यो बेला नेपालको होटल, पर्यटन क्षेत्र मध्यमस्तरमा बिस्तार भइरहेको थियो । घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या सन्तोषजनक थिएन ।

पर्यटन प्रवर्द्धनकेन्द्रीत पूर्वाधार समेत अभाव थिए भने सुविधासम्पन्न होटल पनि थिएनन् । वाग्लेले त्यही ठूलो लगानी गरे र पर्यटन प्रवर्द्धनका निम्ति काम गरे । आफै पर्यटन विकास समिति अध्यक्ष भएर नेतृत्वदायी भूमिका निभाए ।

उनी छोटो समयमै सफल होटल व्यवसायीका रूपमा स्थापित हुन पुगे । उनले कहिल्यै पछाडी फर्केर हेर्नुपरेन । नगरकोटमा उनले होटल व्यवसायसंगै घरजग्गासम्बन्धी कारोबारलाई पनि वाग्लेले अघि बढाए । घरजग्गा कारोबारमा पनि उनी सफल हुँदै गए ।

व्यवसायमा स्थापित भएका वाग्लेले आफ्नो होटल व्यवसायलाई नगरकोटबाट मधेश झार्ने निधो गरे । सिमरामा प्लटिङ्ग गरेर बिक्री गर्दै गरेको इच्छा कोलोनीभित्र उनले सुविधासम्पन्न होटल निर्माणको काम सुरु गरे । त्यतिबेला यस क्षेत्रका लागि अपत्यारिलो योजना थियो ।

सिमरा विमानस्थल त थियो, तर सुविधासम्पन्न होटल नजिकै कतै थिएन । पर्यटक उतारिने ठाउँ थियो तर टिकाउने पूर्वाधार अभाव थियो । सीमावर्ती शहर भारतबाट नेपालसम्म आउने पर्यटक पनि वीरगन्ज केन्द्रीत मात्रै थिए । सुविधासम्पन्न होटल अभावकै कारण सिमरा आन्तरिक तथा बाह्य पर्यटकविहिन अवस्थामा थियो ।

वाग्लेले तीनतारे होटल निर्माण गर्ने भन्दै झाडी पन्छाएर काम सुरु गरे । धेरैले उनलाई प्रश्न पनि गरे ‘होटलमा करोडौं लगानी? कसरी सुरक्षित हुन्छ?’ वाग्ले निर्धक्क भएर भन्थे ‘एकदिन सिमरालाई यही होटलले चिनाउँने छ ’। वाग्ले अहिले पनि भन्छन् ‘अबको सात वर्षपछि सिमराको मुहार अर्कै हुनेछ ।’

वाग्लेको आत्मविश्वाले उनलाई सफलतातर्फ अघि बढाउँदै लगेको छ । नगरकोटबाट सिमरा आएर उनले २३ कठ्ठा जग्गामा करिब ७६ करोड लगानी गर्दै होटलको काम अघि बढाए । २०७३ साल मंसिर ११ गते होटल इच्छा औपचारिक रूपमा सुरु भयो । भारतका योगगुरु बाबा रामदेवले होटलको उद्घाटन गरेका थिए । यो आफैंमा एउटा चर्चाको विषय बन्यो ।

शुरुका केही वर्षमा नै होटल इच्छाले सिमरालाई राष्ट्रिय स्तरमा चिनाउन थाल्यो । औद्योगिक करिडोर, विश्वप्रसिद्ध गढीमाई मन्दिर, सिमरा विमानस्थल, नजिकै भारतको सीमावर्ती शहर भएका कारण पनि नेपाल र भारतबाट पर्यटक आउने क्रम बढ्यो । होटल इच्छा सभासम्मेलन, कार्यक्रम, विवाह, पर्यटन, व्यापारिक बैठकका लागि मुख्य गन्तव्य बन्यो । वाग्लेको लगानीले सिमरालाई चिनाउने मात्र नभई आर्थिक गतिविधिको स्तर माथि उकास्न टेवा समेत पुर्यायो ।

होटल संचालन भएको केही वर्षपछि कोभिडले ठूलो धक्का दियो । पर्यटक शून्य, खर्च निरन्तर । धेरै होटल बन्द भए, कतिपय व्यवसायीले हात उठाए । तर वाग्ले भने अडिग रहे । उनले जेनतेन होटललाई जोगाए । उनी बारम्बार भन्थे ‘हामीले होटल मात्रै होइन, विश्वास पनि बनाएका छौं । विश्वास कहिल्यै बन्द हुँदैन ’।

वाग्लेको भनाईमा यही विश्वासले होटल इच्छा टिक्यो, कर्मचारी टिके, संरचना टिक्यो । महामारी सकिएपछि होटलले फेरि आफ्नो गति पायो र विस्तारका योजना अघि बढ्न थाले । अहिले होटल करिब एक सय कोठा क्षमताको छ । होटलमा प्रत्यक्ष अप्रत्यक्ष दुई सय ६० जनाले रोजगारी पाईरहेका छन् । होटलमा स्विमिङ्ग पुल, जिम, स्पा, क्यासिनो, सभाहल, गार्डेनलगायतका पूर्वाधार छन् ।

कोभिडमा झण्डैझण्डै थलिएको होटलले गत वर्षमात्रै करिब १६ करोडको कारोबार गर्यो । जसमा होटलले ६ करोड खुद मुनाफा गरेको छ । होटलले गरेको मुनाफाले वाग्ले अझै हौसिएका छन् ।

उनले होटललाई समुदायस्तरमा लैजाने निधो गरेका छन् । स्थापित व्यवसायीहरू धेरै जसो होटल आफूसँगै राख्न रुचाउँछन् । तर वाग्लेले होटललाई सर्वसाधारणसम्म लैजाने निर्णय गरेर प्रक्रिया अघि बढाईसकेका छन् । हिमालयन क्यापिटल लिमिटेडले धितोपत्र बोर्डमा आईपिओका लागि काम गरिरहेको संचालक मुनसन वाग्लेले बताए ।

इच्छा होटल प्रालिलाई सार्वजनिक लिमिटेड कम्पनीमा बदल्दै ३५ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि ल्याइने भएको छ । प्रोमोटर शेयर बिक्री गरेका वाग्लेले अब आइपिओमार्फत ३५ लाख कित्ता शेयर बिक्री गर्दैछन् । ‘समुदायसंग जोडिएर काम गर्दा आनन्द आउँछ । काम गर्न पनि सजिलो हुन्छ’ संचालक अध्यक्ष वाग्लेले भने ‘यसले कम लगानी गर्ने सर्वसाधारणलाई पनि होटलप्रति अपनत्व बढाउँछ ।’

वाग्लेले प्राइभेट लिमिटेडलाई सार्वजनिक लिमिटेड बनाउँदै २५ प्रतिशत प्रोमोटर शेयर बिक्री गरिसकेका छन् । चन्द्रागिरी हिल्सका सञ्चालकमध्येका एक नवराज नेपाल पनि होटल इच्छासंग जोडिएका छन् । नेपालले आफ्नो प्रतिनिधि गोकर्ण पाठकमार्फत होटल इच्छामा शेयर लगानी गरेका छन् । दुई हजार तीन सय ७९ शेयर सदस्य रहेको होटलको अहिले लगानी एक अर्ब ४० करोड रहेको छ । ३५ लाख कित्ता शेयर बिक्रीपछि होटलको लगानी करिब एक अर्ब ७५ करोड पुग्नेछ ।

वाग्लेले होटललाई थप व्यवस्थित बनाउन अन्तर्राष्ट्रिय फ्रेन्चाइजसंग सहकार्य गर्ने तयारी गरिरहेका छन् । उनले एक वर्षभित्र होटलमा नाम चलेको फ्रेन्चाइज भित्र्याउन लागेका छन् । जसका लागि उनले दई फ्रेन्चाइजसंग वार्ता गरिरहेका छन् । अन्तर्राष्ट्रिय फ्रेन्चाइजको व्यवस्थापनले होटललाई थप व्यवस्थित बनाउने वाग्लेको आशा छ ।

होटल इच्छालाई परिस्कृत गर्दै अघि बढेका वाग्लेले जीतपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगञ्जमा पनि ३८ करोडको लगानीमा ‘गार्डेन सफारी रिसोर्ट’ निर्माण गरिरहेका छन् । यसमा पनि होटल इच्छा लिमिटेडकै हिस्सा रहनेछ । सिमरा–अमलेखगन्जमा पर्यटनको अपार सम्भावना रहेको बताउँदै वाग्लेले त्यसका लागि आफूले काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्