सिमरामा मेयरसंग विद्यार्थी कार्यक्रम : नगर नेतृत्व र विद्यार्थीबीच प्रत्यक्ष संवाद

सिमराः विद्यार्थी र स्थानीय सरकारबीच प्रत्यक्ष संवाद स्थापित गर्ने उद्देश्यले मंगलबार सिमरामा ‘मेयरसंग विद्यार्थी’ कार्यक्रम सम्पन्न भएको छ। जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र एकता स्कुलका विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यार्थीहरूले नगरभित्रका सामुदायिक तथा निजी विद्यालयको शैक्षिक अवस्था, शिक्षाको गुणस्तर सुधारका योजना, विद्यार्थीमैत्री स्थानीय सरकारको अवधारणा, डिजिटल शिक्षाको विस्तार, छात्रवृत्तिको व्यवस्था, विद्यालयको भौतिक पूर्वाधार, खेलकुद विकास, अध्ययनपछि रोजगारीको अवस्था, सीपमूलक तथा व्यावसायिक तालिम, उपमहानगरपालिकाले प्रदान गर्ने सेवा, प्रविधिमैत्री नगर निर्माणलगायत विषयमा प्रश्न तथा जिज्ञासा राखेका थिए। कार्यक्रमले विद्यार्थीका जिज्ञासा, अपेक्षा र सुझावलाई प्रत्यक्ष रूपमा नगर नेतृत्वसमक्ष राख्ने अवसर समेत प्रदान गरेको छ।
विद्यार्थीको जिज्ञासाको जवाफ दिँदै नगर प्रमुख पौडेलले शिक्षा क्षेत्रलाई उपमहानगरपालिकाको प्राथमिकतामा राखिएको स्पष्ट पारे। उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक तालिम, भौतिक पूर्वाधार विस्तार र प्रविधिको प्रयोग बढाउँदै अघि बढेको बताए ।
निजी तथा सामुदायिक विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नगर प्रमुख पौडेलले सबै विद्यालयमा समान अवसर र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न स्थानीय सरकारले भूमिका खेलिरहेको जानकारी दिए । डिजिटल शिक्षाको सन्दर्भमा उनले विद्यालयहरूमा सूचना प्रविधिको पहुँच विस्तार गर्दै स्मार्ट कक्षा, कम्प्युटर प्रयोगशाला तथा इन्टरनेट सुविधालाई क्रमशः विस्तार गरिने बताए । आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रमलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता पौडेलले जनाए ।
खेलकुद विकास र सीपमूलक तालिमका विषयमा बोल्दै नगर प्रमुख पौडेलले खेलकुद पूर्वाधार र प्रतियोगितालाई प्राथमिकता दिँदै आएको बताएका छन् । अध्ययनपछि रोजगारीको सुनिश्चितताका लागि स्थानीय तहमा सीपमूलक तथा व्यावसायिक तालिम सञ्चालन गरी युवालाई आत्मनिर्भर बनाउने योजना रहेको उनको भनाइ थियो।
उपमहानगरपालिकाको सेवा प्रवाह र प्रविधिमैत्री नगर निर्माणका विषयमा नगर प्रमुख पौडेलले डिजिटल सेवा, अनलाइन प्रणाली र नागरिकमैत्री प्रशासनलाई विस्तार गर्दै सुशासन कायम गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले विद्यार्थीहरूलाई सचेत, जिम्मेवार र सकारात्मक सोच भएका नागरिक बन्न आग्रह गर्दै स्थानीय विकासमा सक्रिय सहभागिताको अपेक्षा व्यक्त गरे ।
एकता स्कुलले पहिलो पटक ‘मेयरसंग विद्यार्थी’ कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमको सहजीकरण शिक्षक दिवस न्यौपानेले गरेका थिए । कार्यक्रमले विद्यार्थीमा नेतृत्वप्रति विश्वास बढाउने, लोकतान्त्रिक अभ्यास सिकाउने र स्थानीय सरकार तथा नागरिकबीचको दूरी घटाउने विश्वास लिइएको शिक्षक न्यौपानेले बताए ।





