अत्यधिक चिसोका कारण निजगढका विद्यालयहरूमा थप दुई दिन बिदा

सिमराः विगत केही दिनदेखि बढ्दै गएको अत्यधिक चिसो र शीतलहरका कारण निजगढ नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयहरूमा थप दुई दिन बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाको कार्यालयले आइतवार एक सूचना जारी गर्दै विद्यार्थीहरूको स्वास्थ्य र प्रतिकूल मौसमलाई मध्यनजर गर्दै बिदा थप गरिएको जानकारी दिएको हो ।
यसअघि पुस ९ गतेदेखि ११ गतेसम्म बिदा दिइएकोमा चिसो नघटेपछि पुनः पुस १३ र १४ गते दुई दिन बिदा थप गरिएको छ ।थप गरिएको बिदा विद्यालयहरूको वार्षिक वर्षे बिदाबाट कट्टा हुने गरी मिलान गरिने सूचनामा उल्लेख छ ।
नगरपालिकाले सबै विद्यालय प्रशासनलाई उक्त निर्णय पालना गर्न र विद्यार्थीहरूलाई चिसोबाट जोगिन आग्रह समेत गरेको छ ।





