सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

सप्तरी: सप्तरीको खडक नगरपालिकामा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। मृत्यु हुनेमा २४ वर्षीय सुरेश चौधरी रहेका छन्।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ५५१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक डाइभर्सनका लागि राखिएको सिमेन्टको ब्लकमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक सुरेश र पछाडि सवार २५ वर्षीय सरोज चौधरी घाइते भएका थिए।
घाइतेहरूलाई उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल पठाइएकोमा उपचारका क्रममा सुरेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।
घाइते सरोजको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ र उनको हाल सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।





