आगामी निर्वाचनका लागि बारा र पर्साका सीमानाका ७२ घण्टा बन्द गरिने


eShilalekh

१० फाल्गुन २०८२, आईतवार १२:५१

सिमराः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल–भारत सीमानाका ७२ घण्टा बन्द हुने भएको छ ।

पर्साको वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसिपी) मा शनिबार बसेको दुवै देशका सुरक्षा अधिकारीहरूको उच्च स्तरीय बैठकले निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै मतदान हुनुभन्दा ७२ घण्टा अगाडिदेखि बारा र पर्सा जिल्लासँग जोडिएका नाकाहरू पूर्ण रूपमा बन्द गर्ने सहमति गरेको हो ।

निर्वाचनलाई लक्षित गरी एक हप्ता अगाडिदेखि नै सीमा सुरक्षा सुदृढ बनाउने र प्रभावकारी चेकजाँच सुरु गर्ने प्रतिबद्धता बैठकले व्यक्त गरेको छ । सीमा क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायले संयुक्त रूपमा काम गर्नेछन् ।

विशेषगरी अवैध हातहतियार, जाली मुद्रा, मानव बेचबिखन र अवैध व्यापार जस्ता आपराधिक क्रियाकलाप रोक्न कडाइ गरिने बताइएको छ । साथै, शान्ति सुरक्षामा खलल पु‍र्याउन सक्ने अवैध मदिरा, नशालु पदार्थ र विष्फोटक पदार्थको ओसारपसार नियन्त्रणमा विशेष निगरानी राख्ने निर्णय समेत भएको छ ।

उक्त द्विपक्षीय बैठकमा नेपालका तर्फबाट बारा र पर्साका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो भने भारतीय पक्षबाट पूर्वी र पश्चिम चम्पारणका डिस्ट्रीक मेजिस्ट्रेट (डीएम) लगायतका सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्