रौतहटमा जारी कर्फ्युलाई पुनः निरन्तरता

रौतहटः रौतहटको सदरमुकाम गौरमा उत्पन्न तनावलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयल कर्फ्युलाई पुनः निरन्तरता दिएको छ ।
शनिबार गौर नगरपालिका ६ स्थित सनगडा गाउँमा मुस्लिम समुदायले प्रार्थना गरिरहेका बेला हिन्दू समुदायले बाजा बजाएको विषयलाई लिएर सुरु भएको विवादले हिंसात्मक रूप लिएपछि प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको हो ।
आइतबार बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म कर्फ्यु दुई घण्टाका लागि केही खुकुलो पारिएको थियो । स्थिति अझै संवेदनशील रहेकाले बिहान साढे ८ बजेपछि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्युलाई पुनः निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।
प्रशासनले कर्फ्यु लागू हुने क्षेत्रको सीमा निर्धारण गर्दै पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बसपार्क क्षेत्र र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्र तोकेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शान्ति सुरक्षा कायम गर्न सबै पक्षलाई सहयोगको अपिल गरिएको छ । साथै प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लंघन गर्ने जोकोहीलाई पनि कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ ।





