बारा क्षेत्र नं. ४ मा आचारसंहिता कडाइ, उम्मेदवारलाई आयोगको निर्देशन

सिमराः बारा निर्वाचन क्षेत्र नं. ४ स्थित निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरूलाई आचारसंहिता कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। फागुन ५ गतेको निर्णय अनुसार प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लंघन हुने गतिविधि नगर्न/नगराउन कार्यालयले अनुरोध गरेको हो।
कार्यालयद्धारा आइतबार जारी सूचनामा प्रचार अवधिभर निर्वाचन आचारसंहिता २०८२ ले तोकेको समयमै सवारी साधनको पास लिएर मात्र प्रचार गर्नुपर्ने उल्लेख छ। त्यस्तै तोकिएअनुसारका प्रचार सामग्री मात्रै प्रयोग गर्न, विदेशी नम्बर प्लेट भएका सवारी साधन प्रयोग नगर्न र वातावरणमा प्रतिकूल असर पार्ने सामग्री प्रयोग नगर्न पनि निर्देशन दिइएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार केही उम्मेदवारले डीजे बजाएको विषयमा पटकपटक मौखिक उजुरी आएकोले त्यस्तो कार्य नगर्न विशेष ध्यानाकर्षण गराइएको छ। सामाजिक सञ्जालमार्फत गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नगर्न/नगराउन पनि आग्रह गरिएको छ।
कार्यालयले आचारसंहिता उल्लंघन भएमा प्रचलित कानुनबमोजिम कारबाही हुने स्पष्ट पारेको छ। निर्वाचनको निष्पक्षता र मर्यादा कायम राख्न सबै उम्मेदवार तथा सरोकारवालालाई नियमको पूर्ण पालना गर्न आह्वान गरिएको छ।
हेर्नुहोस् सूचना






