वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु लागू

वीरगन्ज: वीरगन्ज महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासनले सोमबार बिहान ९:४५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लागू गरेको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दहालले जारी गरेको आदेशअनुसार आइतबार महानगरपालिकाको श्रीपुर क्षेत्रमा पार्किङको विषयलाई लिएर भएको सामान्य विवाद क्रमशः दुई समुदायबीच तनावमा परिणत भएपछि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कर्फ्यु लगाइएको हो। जिल्ला सुरक्षा समितिको सिफारिसमा प्रशासनले उक्त निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको जनाएको छ। आदेशअनुसार तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न निषेध गरिएको छ।
प्रशासनका अनुसार कर्फ्यु क्षेत्र पूर्वमा बाइपास रोड, पश्चिममा सिरिसिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म तोकिएको छ।
कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षामा सहभागी परीक्षार्थी तथा परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटक सवारीसाधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारीसाधन तथा हवाई टिकटका आधारमा यात्रा गर्ने यात्रुलाई सुरक्षा निकायले सहजीकरण गर्ने प्रशासनले जनाएको छ।







