वीरगन्जमा ३० युवतीका लागि आयोजित दुई महिने सिलाई–कटाई तालिम सम्पन्न

वीरगन्जः वीरगन्ज महानगरपालिका १३ नयाँटोल मुर्लीका ३० जना युवतीका लागि सञ्चालन गरिएको दुई महिने सिलाई–कटाई तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।
उपकार सेवा नेपालको सहयोगमा आयोजित यस तालिमको मुख्य उद्देश्य स्थानीय युवतीहरूलाई सीपमूलक प्रशिक्षणमार्फत आर्थिक रूपमा आत्मनिर्भर बनाउनु रहेको थियो ।
दुई समूहमा विभाजन गरी प्रदान गरिएको उक्त तालिमको समापन समारोहमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीको अध्यक्षतामा सम्पन्न समारोहमा अभिभावक पद्मा देवी सरावगी र सदस्य सुमन बगेडियाले प्रशिक्षार्थीहरूलाई बधाई दिँदै सिकेको सीपलाई आयआर्जनको माध्यम बनाउन आग्रह गरे ।
कार्यक्रममा मुख्य प्रशिक्षकद्वय खुश्बु प्रबिन र शोनी प्रबिनलाई विशेष सम्मान गरिएको थियो भने सामाजिक अभियन्ता प्रकाश थारु लगायत स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो ।
प्रशिक्षार्थीहरू सलमा प्रबिन, सकिला प्रबिन, सजरुन प्रबिन र बिस्मिल्ला प्रबिनले यस तालिमले आफूहरूमा आत्मविश्वास बढाएको र स्वरोजगार बन्ने हौसला प्रदान गरेको बताउँदै आगामी दिनमा पनि यस्ता महिला सशक्तीकरणका कार्यक्रमलाई निरन्तरता दिन माग गरेका छन् ।






