हेटौँडामा दुई युवकलाई ठक्कर दिने ट्रक वीरगन्जको ग्यारेजबाट बरामद, चालक फरार


eShilalekh

१३ फाल्गुन २०८२, बुधबार १४:२६

सिमराः मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ बस्तीपुरमा बुधवार बिहान मोटरसाइकललाई ठक्कर दिएर फरार भएको ट्रक वीरगन्जमा फेला परेको छ ।

अज्ञात सवारीको ठक्करबाट ना.४३ प २२१ नम्बरको मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा मकवानपुरकै राक्सिराङ गाउँपालिका १ का २२ वर्षीय संजित स्याङ्तान र १८ वर्षीय अमोश थिङ रहेका छन्।

वीरगन्ज महानगरपालिका १३ स्थित प्रतिमाचोक ग्यारेजमा दुर्घटनामा क्षतिग्रस्त भएको भाग मर्मत गरिरहेको अवस्थामा ग.२ ख ८९८ नम्बरको मालवाहक ट्रक फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक नरेश सुवेदीका अनुसार भोला बडी बिल्डर्स ग्यारेजमा लुकाएर पाटपुर्जा खोलिरहेको अवस्थामा ट्रकलाई नियन्त्रणमा लिइएको हो । ट्रक फेला परे तापनि चालक भने ग्यारेजमा गाडी छाडेर फरार भएका छन् ।

हाल प्रहरीले नियन्त्रणमा लिएको ट्रकका विषयमा थप कानुनी प्रक्रिया र अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमार्फत समन्वय गरिरहेको छ ।

फरार चालकको पहिचान भइसकेको र उनको खोजी कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्