निर्वाचन प्रचारप्रसारमा अवरोध गरे दुई लाख जरिवाना र तीन वर्ष कैद

सिमराः निर्वाचन आयोगले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा अवरोध पुर्याए दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको जनाएको छ ।
सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा–अवरोध पुर्याउने, पुर्याउन लगाउने वा थुनछेक गर्ने कार्यलाई गम्भीर कसुर मानिने आयोगको ठहर छ ।
हाल सञ्चालन भइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा विभिन्न दल वा उम्मेदवारका कार्यक्रममा अवरोध सिर्जना गरिएको भन्ने उजुरी र सञ्चारमाध्यमका समाचारप्रति आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
निर्वाचन आचारसंहिता अनुसार कुनै पनि दल, उम्मेदवार वा भातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला बिथोल्न नपाइने स्पष्ट व्यवस्था छ ।
निर्वाचन (कसुर तथा सजाय) ऐनअनुसार उम्मेदवारी दिन वा प्रचारप्रसार गर्नबाट कसैलाई पनि रोक लगाउन नहुने भन्दै आयोगले आसन्न निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउनु सबै सरोकारवालाको साझा दायित्व भएको स्मरण गराएको छ ।
कानुन विपरीतका यस्ता गतिविधि नगर्न र गराउन आयोगले सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र आम नागरिकलाई विशेष आग्रह गरेको छ ।







