‘सुरक्षित होली, स्वस्थ होलीः रङसँगै भित्रिने जोखिम र बच्ने उपाय’


eShilalekh

१७ फाल्गुन २०८२, आईतवार १९:५६

होली रङहरूको उत्सव मात्र नभई यो हाम्रो शारीरिक र मानसिक स्वास्थ्यसँग पनि गहिरो रूपमा जोडिएको छ । जाडो महिनाको समाप्ति र वसन्त ऋतुको आगमनसँगै मनाइने यो पर्वले शरीरमा नयाँ ऊर्जा भर्ने र जाडोमा निष्क्रिय रहेका कोषहरूलाई सक्रिय बनाउने प्राकृतिक अवसर प्रदान गर्दछ ।

नेपाली समाजमा होली रङ र पानीको खेल मात्र होइन, यो वसन्तको आगमन, सामाजिक सद्भाव र विजयको उत्सव पनि हो । तर परम्परागत रूपमा प्रयोग गरिने प्राकृतिक रङहरूको स्थान आधुनिक रासायनिक रङहरूले ओगट्न थालेको छ ।जसकारण होली पर्व उल्लाससँगै स्वास्थ्य चुनौतीको विषय पनि बन्न पुगेको छ ।

रङमा मिसाइने भारी धातु र हानिकारक रसायनले हाम्रो छाला, आँखा र कपालमा तत्काल र दीर्घकालीन असर पुर्याईरहेका हुन्छ । यसै सन्दर्भमा होलीलाई कसरी सुरक्षित र स्वास्थ्यमैत्री बनाउने? कुन रङले हाम्रो शरीरमा कस्तो जोखिम निम्त्याउँछन् ? र रङको छनोट गर्दा कुन कुरामा ध्यान दिने? यिनै विषयहरूमा केन्द्रित रहेर छालारोग विशेषज्ञ डा. विकास पौडेलसँग निलिसा वर्माले गरेको कुराकानीः

प्रश्नः होली पर्वको मौलिक स्वरूप कस्तो थियो र अहिले यसमा के परिवर्तन आएको छ?

होली मूलतः वसन्तको आगमन र सामाजिक मेलमिलापको उत्सव हो । परम्परागत रूपमा यो पर्वमा प्राकृतिक रङहरूको प्रयोग हुन्थ्यो । जस्तै पहेँलोका लागि बेसार र केसर, रातोका लागि पलाशका फूल र हरियोका लागि पालुङ्गो वा मेथीका पात प्रयोग गरिन्थ्यो । यी रङहरू छाला र वातावरण दुवैका लागि मैत्री थिए । तर अचेल औद्योगिक र रासायनिक रङहरूको प्रयोग बढेको छ जसले गर्दा होलीको स्वरूपसँगै यसले निम्त्याउने स्वास्थ्य समस्याहरू पनि बदलिएका छन् ।

प्रश्नः बजारमा पाइने आधुनिक रङहरूमा कुन–कुन हानिकारक तत्वहरू हुन्छन?

अहिलेका अधिकांश रङहरू कपडा वा प्लास्टिक रङ्गाउन प्रयोग गरिने ‘औद्योगिक डाई’ बाट बनेका हुन्छन् । रासायनिक दृष्टिले हेर्दा हरियो रङमा क्रोमियम अक्साइड, रातो रङमा मर्करी सल्फाइड वा रोडामाइन–बी, कालो रङमा लेड अक्साइड, नीलो रङमा प्रुशियन ब्लू, पहेँलो रङमा लेड क्रोमेट, सिल्भर र गोल्डेन जस्ता पेन्टमा एल्युमिनियम र सिलिका जस्ता भारी धातुहरू पाइन्छन् । यसबाहेक रङलाई चिल्लो बनाउन इन्जिन आयल वा डिजेल जस्ता हानिकारक तेलहरू समेत मिसाइएको हुन सक्छ ।

प्रश्नः यी रासायनिक रङहरूले छालामा कस्तो असर पु¥याउँछन्?

यसका असरहरू दुई प्रकारका हुन्छन् । तत्काल हुने असरमा जलन हुने, छाला रातो हुने, चिलाउने र फोका उठ्ने (जसलाई कन्ट्याक्ट डर्माटाइटिस भनिन्छ) जस्ता समस्या देखिन्छन् । दीर्घकालीन असरमा छाला कालो हुने, पातलो हुने वा सधैँका लागि एलर्जी हुने जोखिम रहन्छ । विशेषगरी पहिले नै डन्डिफोर, सोरायसिस वा लुपस जस्ता छालाका समस्या भएका व्यक्तिहरूलाई यसले झनै गम्भीर असर गर्छ ।

प्रश्नः बालबालिकाहरू होलीमा बढी उत्साहित हुन्छन्, उनीहरूको सुरक्षाका लागि अभिभावकले के कस्ता कुरामा ध्यान दिनुपर्छ ?

बालबालिकाको छाला वयस्कको तुलनामा निकै पातलो र संवेदनशील हुन्छ त्यसैले उनीहरूलाई विशेष हेरचाह चाहिन्छ ।
बालबालिकालाई गाढा र रासायनिक रङभन्दा पनि घरमै बनाइएका प्राकृतिक रङ वा अबिर मात्र प्रयोग गर्न दिनुपर्छ । खेल्नुअघि उनीहरूको शरीरभरि तोरी वा नरिवलको तेल वा बेबी लोसन राम्रोसँग लगाइदिनुपर्छ । रङ खेल्दा मुखमा नपरोस् भनी ध्यान दिनुपर्छ, किनकि यसले पेट दुख्ने वा विषाक्तता निम्त्याउन सक्छ । यसैगरी बालबालिकालाई नुहाउँदा कडा साबुन वा तातो पानी प्रयोग गर्नु हुँदैन । यसले छाला झनै सुख्खा बनाउँछ ।

प्रश्नः के रङको असर छालामा मात्र सीमित हुन्छ ?

अहँ, हुँदैन । रङले आँखामा पर्दा कन्जक्टिभाइटिस वा दृष्टि धमिलो हुने समस्या हुन सक्छ । कपालमा पर्दा कपाल सुख्खा हुने र झर्ने समस्या देखिन्छ । यस्तै रङको धुलो सासको माध्यमबाट फोक्सोसम्म पुग्दा दम वा एलर्जी भएका बिरामीलाई सास फेर्न गाह्रो हुन सक्छ ।

प्रश्नः सुरक्षित रूपमा होली मनाउन खेल्नुअघि के–कस्ता तयारी गर्नुपर्छ ?

होली खेल्नुअघि केही सरल सावधानी अपनाउन सकिन्छ । छालामा पर्याप्त नारिवलको तेल वा मोइस्चराइजर लगाउने जसले रङलाई भित्र छिर्न दिँदैन । घामको असरबाट बच्न सनस्क्रिन प्रयोग गर्ने, नङ सानो राख्ने र ओठमा लिप बाम लगाउने । यसैगरी आँखाको सुरक्षाका लागि कन्ट्याक्ट लेन्सको सट्टा चस्मा लगाउनु सुरक्षित हुन्छ ।

प्रश्नः होली खेलिसकेपछि रङ हटाउने सही तरिका के हो ?

रङ हटाउँदा बलपूर्वक रगड्नु वा कडा साबुन प्रयोग गर्नु हुँदैन । यसले छालाको सुरक्षात्मक तहलाई बिगार्छ । पहिला साधारण पानी वा ‘माइल्ड क्लिन्जर’ ले बिस्तारै रङ पखाल्ने र त्यसपछि मोइस्चराइजर लगाउने गर्नुपर्छ । यदि रङ सजिलै गएन भने रासायनिक रिमुभर प्रयोग गर्नुभन्दा केही दिन पर्खेर प्राकृतिक रूपमै फिका हुन दिनु राम्रो हुन्छ ।

प्रश्नः अन्तमा होली खेल्नेहरूलाई के सुझाव दिनुहुन्छ ?

होलीको मर्म रङको कडापनामा होइन, सम्बन्धको मिठासमा हुन्छ । त्यसैले सकेसम्म घरमै बनाइएका वा प्रमाणित ‘हर्बल’ रङहरू मात्र प्रयोग गर्नुहोस् । बालबालिका, गर्भवती महिला र छालाका दीर्घरोगीहरूले विशेष सावधानी अपनाउनु आवश्यक छ । यदि रङका कारण छालामा गम्भीर समस्या देखिएमा तुरुन्त छाला रोग विशेषज्ञसँग परामर्श लिनुहोस् ।

प्रतिक्रिया दिनुहोस्