प्रतिनिधिसभा निर्वाचनः आज मध्यरातदेखि मौन अवधि सुरु

सिमराः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरात १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार आजसम्म मात्रै चुनावी प्रचारप्रसारका कार्यक्रमहरू गर्न पाइनेछ भने सोमबार रातिदेखि मतदान सम्पन्न नहुँदासम्मका लागि यो अवधि लागू हुनेछ ।
मौन अवधि सुरु भएसँगै निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रचारप्रसारका गतिविधि, सभा, सम्मेलन, छलफल, अन्तक्रिया वा गोष्ठीजस्ता कार्यक्रमहरू सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।
आयोगले मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि नै यसलाई कडाइका साथ पालना गराउने तयारी गरेको छ । यस अन्तर्गत मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्रीहरू अनिवार्य रूपमा हटाउनुपर्छ । यस अवधिमा भौतिक रूपमा मात्र नभई कुनै पनि सञ्चार माध्यम वा सामाजिक सञ्जालबाट समेत मत माग्न पाइने छैन ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिको गम्भीरतालाई ध्यान दिँदै आचारसंहिता पालना गर्न आग्रह गरेका छन् छ । आचारसंहिता उल्लङ्घन गरेको पाइएमा सम्बन्धित उम्मेदवारको मनोनयन नै रद्द हुन सक्ने कडा चेतावनी समेत दिईएको छ ।






